काठमाडौं शान्तिनगरकी विमला सिवाकोटीले बुधबार बिहान ८ बजे इन्डक्सन चुलोमा
खाना बसालेपछि केही बेरमै बत्ति गयो, उनी रनभुल्लमा परिन्। खाना बनाउने
समयमा बत्ति नजाने सूचना थाहा पाएकी उनी बुधबार भने अन्योलमा परिन्। बत्ति
कतिखेर आउँछ भन्ने निश्चित नभएपछि उनले छिमेकीकोमा आफ्नी छोरीलाई खाना
खुवाएर स्कुल पुर्याई आफू भने भोकै कार्यालयतिर लागिन्।
ग्यास सकिएपछि हालै मात्र इन्डक्सन चुलोमा खाना बनाउन थालेकी सिवाकोटीले कार्यालयमा आफ्नो गुनासो पोखिन्।
उनीमात्रै होइन, उनीजस्तै कैयन सर्वसाधारणले यस्तै दुःख ब्यहोर्न थालेका
छन्। खाना बनाउने समयमा बीचबीचमा बत्ति जाने समस्याले गर्दा कतिपयले खाना
बिग्रेको तथा इलेक्ट्रोनिक्स सामान समेत बिग्रने गरेको गुनासो गर्न थालेका
छन्। पछिल्लो पटक राइस कुकर, इन्डक्सन चुलो, हिटर, इलेक्ट्रोनिक्स जग,
रडजस्ता विभिन्न सामाग्रीको प्रयोग बढ्न थालेको छ।
सर्वसाधारणले खाना बनाउने समयमा बत्ति जाने गरेको गुनासो गरे पनि नेपाल
विद्युत प्राधिकरणले भने खाना बनाउने समयमा १ घण्टाभन्दा बढी समयसम्म
विद्युत कटौती नगरिएको दावी गर्दछ।
प्राधिकरण भार प्रेषण केन्द्रका निर्देशक भुवन क्षेत्रीले सेतोपाटीसित
कुराकानी गर्दै संकटका कारण खाना बनाउने अवधिमा विद्युत कटौती नगरिएको र
विद्युत गए पनि छोटो समयका लागि जाने गरेको बताउँछन्।
‘नाकाबन्दीको संकटका कारण अहिलेका लागि हामीले खाना बनाउने बेला लामो
समयसम्म विद्युत काटेका छैनौँ’, क्षेत्रीले भने ‘केही दिनपछि भने
अहिलेजस्तै विद्युत दिइरहन सक्दैनौँ।’
नदीहरुमा पानीको वहाव घट्दै जाँदा विद्युत उत्पादन घटेको र इलेक्ट्रोनिक्स
सामानको प्रयोग बढेसँगै खपत बढेकोले गर्दा अहिलेजस्तो धान्न सक्ने स्थितिमा
प्राधिकरण नरहेको बताउँछन्। केही दिनमै विद्युत कटौती बढाउनुको विकल्प
नरहने भन्दै उनले उपभोक्ता पनि इलेक्ट्रोनिक्स सामान प्रयोग गर्दा सजग
हुनुपर्नेमा जोड दिए।
सर्वसाधारणलाई विद्युत खपत कम गर्न र आग्रह गर्दै उनले भने ‘एउटा उपकरण
चलाउँदा, अर्को उपकरण नचलाउने र सकेसम्म खपत कम गर्नु नै उपर्युक्त हुन्छ।’
विद्युत खपत एकैचोटी बढ्दाखेरी विभिन्न स्थानमा ट्रान्सफर्मर पड्किने
गरेको, फ्यूज जल्ने गरेको र अन्य समस्या समेत बढेको उनले बताए। पछिल्लो पटक
इलेक्ट्रोनिक्स सामान थपिँदै जाँदा विद्युत खपत बढेको र यसले गर्दा
ट्रान्सफर्मरमा असर पर्ने गरेको प्राधिकरणले जनाएको छ।
त्यसो त मुलुकका ठूला उद्योगधन्दाहरु समेत बन्द छन्, यी उद्योगहरु बन्द
हुँदा समेत विद्युत प्राधिकरणले नियमित रूपमा विद्युत आपूर्ति गर्न नसक्ने
जनाएको छ। वर्तमान संकट केही सहज हुनेवित्तिकै लोडसेडिङ बढाउने तयारी
गरिएको प्राधिकरणकै उच्च अधिकारीहरू बताउँछन्।
Source: setopati
0 comments :
Post a Comment